काठमाडौं । करिब डेढ घण्टा अवरुद्ध बनेका मेटाका सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन्।
नेपालमा आइतबार दिउँसो करिब १ः३० बजेदेखि फेसबुकको सेवा प्रभावित भएको थियो। विशेषगरी डेस्कटप ब्राउजरबाट लगइन गर्दा Account Temporarily Unavailable’ भन्ने सन्देश देखिएको थियो। केही प्रयोगकर्ताले भने मोबाइल एपबाट फेसबुक सामान्य रूपमा चलिरहेको बताएका थिए।
दिउँसो ३ बजेतिर फेसबुक र इन्स्टाग्राम दुवैको सेवा पुनः सुचारु भएको हो।
यो समस्या सुरुमा अमेरिकाबाट रिपोर्ट भएको थियो र केही समयमै विश्वका विभिन्न देशमा फैलिएको थियो। अनलाइन सेवा निगरानी गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ सेवा अवरुद्ध भएको गुनासो दर्ता गरेका थिए।
डाउनडिटेक्टरका अनुसार करिब ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप) मा, २० प्रतिशत मोबाइल उपकरणमा र १० प्रतिशत एपमा देखिएको थियो। अधिकांश प्रयोगकर्ताले मोबाइल एप सामान्य रूपमा चले पनि डेस्कटप संस्करणमा समस्या आएको बताएका थिए।
सेवा पुनः सञ्चालनमा आए पनि समस्या के कारण उत्पन्न भएको हो भन्नेबारे मेटाले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन।