Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाका कारण व्यापार घटेपछि अमेरिकामा नेपाली चिन्तित

    कोरोनाका कारण व्यापार घटेपछि अमेरिकामा नेपाली चिन्तित

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.3K
    SHARES

    न्युयोर्क — क्यालिफोर्नियाको माउन्टेन भ्यूमा ६ वर्षदेखि बलिउड ब्युटी शैलुन चलाइरहेकी निलुफा चौधरी २५ प्रतिशत पनि व्यापार हुन छाडेका बताउँछिन् । ‘प्राय: जसो ९० प्रतिशत भारतीय ग्राहक छन्, उनीहरु निक्कै डराएका छन्’ उनले भनिन् ‘बजारको धेरै सामग्री पनि भारतीयले नै उठाएर लगेका छन् ।’

    १२ जना कर्मचारी नियमित राखेकी उनले ग्राहक कम भएपछि सबै कर्मचारीलाई थोरै घण्टा काम दिएर राखेकी छन् । ‘कर्मचारीलाई बेरोजगार पनि बनाउन मिलेन’ उनले भनिन् ‘थोरै थोरै उनीहरुको दैनिकी तलबका कारण फरक नपरोस् भनेर व्यवस्थापन गरिराखेको छु ।’



    सन्नीभेलमा ७ महिनाअघि ५ नेपाली मिलेर दि गोर्खा किचेन रेस्टुरेन्ट खोलेका थिए । कोरोनाले गर्दा व्यापार ७० प्रतिशतले घटेको लगानीकर्तामध्येका प्रकाश वन बताउँछन् । नेपाली समुदाय धेरै भएका स्थानमा नेपाली स्वाद दिन उनीहरुले व्यापार सुरु गरेका थिए । ‘एक महिना अघिसम्म व्यापार उत्कृष्ट थियो, कोरोना हल्लाले अहिले डामाडोल भएको छ’ वनले भने । लगानीकर्ता ५ सहित अन्य ५ कर्मचारी रेस्टुरेन्टका लागि राखिएको छ । आफ्नो नियमित काम छाडेर रेस्टुरेन्ट व्यवसायमा होम्मिएका यी ५ युवालाई अब के गर्ने भन्ने मेसो छैन । ‘रेस्टुरेन्ट बन्द गरेर अरु काम गर्न पनि सक्तैनौं, यसैमा अडिरहन पनि व्यापार अभावका कारण मुस्किल हुँदै गएको छ’, उनले भने, ‘५ परिवारलाई नियमित घर खर्चका लागि पनि धौ धौ छ ।’



    कोरोनाको संक्रमणबाट बच्न रेस्टुरेन्टले सावधानी अपनाइरहेको छ । टेबल सरसफाई, ग्राहकभित्र छिर्ने मुख्यद्धार र शौचालय सरसफाईमा विशेष ध्यान दिइरहेको उनले बताए । ‘सान्टाक्लारा काउन्टीले सुझाएअनुसार स्वास्थ्य र खाद्यान्न‍मा विशेष ध्यान दिएका छौं’ उनले भने । सान्टाक्लारा काउन्टीले कोरोना भाइरसको असरबाट बच्न बिशेष ध्यान दिन भनेको छ ।

    सडक किनारमा एक वर्षअघि तीन नेपालीले सुरु गरेको फूड ट्रक (खाने कुरा पकाएर बेच्ने ट्रक) मा पनि ग्राहक घटेको छ । कोरोना त्रासले मानिसहरु ट्रकमा आएर खानेभन्दा अनलाइन अर्डर गर्ने गरेको सञ्चालक आशीष कार्की बताउँछन् । उनको हिसाबमा साताअघिदेखि व्यापारमा धेरै असर पर्न थालेको हो । ‘ट्रक खोलेर ग्राहक ढुकेर बस्नु परेको छ’, उनले भने, ‘६० देखि ६५ प्रतिशत व्यापार कम भएको छ ।’ उनीहरुले ग्राहकका स्वास्थ्यलाई ध्यानमा राखेर ह्याण्ड स्यानिटाइजर, अदुवा बेसार पानीसमेत उपलब्ध गराइराखेका छन् ।

    अमेरिकामा चेन व्यापार गर्दै आएको ‘सेभेस इलेभेन’ले कोरोना भाइरसको त्रासका कारण अमेरिकाका सबै स्टोर बन्द गर्ने तयारी गरिरहेको छ । त्यसो गर्दा अमेरिकामा बस्दै आएका धेरै नेपाली त्यसको मारमा पर्नेछन् । ‘धेरै नेपालीले सेभेन इलेभेनमा लागनी गरेका छन्’, व्यवसायीले भने, ‘त्यसले उनीहरुलाई प्रत्यक्ष असर पर्छ ।’

    रेस्टुरेन्ट, ब्युटीपार्लर जस्तो नेपालीले चलाएका ग्यास स्टेसनमा भने तुरुन्तै असर नदेखिएको व्यवसायी विकासराज न्यौपाने बताउँछन् । टेक्सासका विभिन्न सहरमा ग्यास स्टेसन र सुलभ स्टोर चलाउँदै आएका उनले व्यापार नरोकिने बताए ।

    साना व्यवसायीसँगै नयाँ घर किनेका नेपालीहरुमा चिन्ता थपेको छ । कोरोनाका कारण कम्पनीले कर्मचारी कटौती गरे रोजगार गुम्‍ने र घरको ऋण तिर्न मुस्किल हुने उनीहरु बताउँछन् । टेक्सास्को डालासमा ६ वर्षदेखि बस्दै आएका नवराज चौलागाईंले दुई वर्षअघि १५ वर्षभित्र तिर्ने गरी बैंकबाट ऋण लिएर घर किनेका थिए । मासिक कमाइबाट घर खर्च र ऋण बुझाइरहेका उनी कोरोनाका कारण काम छुटे कसरी जीविका चलाउने भनेर चिन्तित छन् । ‘कम्पनी नै बन्द नभए पनि केही समयलाई काम नपाइने सम्भावना बढ्दै गएको छ’, उनले भने, ‘त्यस्तो बेला कसरी व्यवस्थापन गर्ने चिन्ता लाग्‍न थालेको छ ।’

    क्यालिफोर्नियाको लसएञ्जलस् सहरमा बस्ने राजेश मिश्रले अनलाइबाट चामल अर्डर गर्दा बोरामात्र आएको भन्दै तस्बिरसहित फोटो फेसबुकमा राखे । उनकी श्रीमतीले स्टोरमा सामान लिन जाँदा पाइनन् । त्यसैको झोंकमा अनलाईन अर्डर गर्दा बोरामात्र आएको उनले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार