Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा थप ३ नेपालीमा काेराेना संक्रमण

    भारतमा थप ३ नेपालीमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ। उत्तरप्रदेश राज्यको बागवत जिल्लास्थित खेखडा पुगेका तबलिगी समुदायका नेपालीमध्ये थप तीन जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसअघि उनीहरूमध्ये ६५ वर्षीय एक वृद्धामा मात्र भाइरस देखिएको थियो ।

    स्थानीय प्रहरीका अनुसार तबलिगी समुदायको सदस्य रहेका २८ जना नेपाली मुसलमान अघिल्लो महिना खेखडा पुगेका थिए । तीमध्ये चार जनामा संक्रमण पुष्टि भएको हो । प्रहरी उपरीक्षक प्रतापगोपेन्द्र यादवले थप तीन जनामा भाइरस देखिएको बताए । ‘पहिले एक जनामा मात्र कोरोना भाइरस पुष्टि भएकामा पछि थप तीन जनामा पनि संक्रमण देखिएको छ,’ यादवले भने ।



    भारतका विभिन्न राज्यमा पहिचान भएका बिरामीहरू सबैजसो तबलिगी भेलाका सहभागी भएको खुलेपछि भारतको गृह मन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले अप्रिल १ मा उत्तरप्रदेशको बागवत जिल्लामा पर्ने खेखडाको मस्जिदबाट २८ जना नेपाली मुसलमानलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरू पहिले दिल्लीको इस्लामिक भेलामा सहभागी भएको भनिएकामा अनुसन्धानमा उनीहरू खेखडालगायतका ठाउँका विभिन्न स्थानीय मस्जिदको भेलामा मात्र सहभागी भएको प्रहरीले बताएको छ ।



    उपरीक्षक यादवका अनुसार उनीहरूसँगै खेखडाकै भेलामा सहभागी हुन नेपालबाट आएका हुन् । ‘अहिलेसम्मको अनुसन्धानमा उनीहरू दिल्ली गए पनि निजामुद्दिनको इस्लामिक भेलामा सहभागी भएको देखिएको छैन । उनीहरू यहीँकै जमात (भेला) का लागि आएको देखिएको छ,’ यादवले भने । तर अनुसन्धानमा उनीहरूले दिल्ली ओहोरदोहोर गरेको र त्यही बेला अरूसँगको सम्पर्कबाट संक्रमणको आंशका गरिएको यादवले बताए ।

    प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरू सबै मार्च ११ र १९ मा खेखडा पुगेको खुलेको थियो । तीमध्ये अधिकांश सुनसरी जिल्लाका र केही सप्तरी निवासी भएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रण लिएपछि सबैलाई क्वरेन्टाइनमा पठाइएको थियो । भोलिपल्ट उनीहरू सबैको स्वाब संकलन गरेर स्वास्थ्य परीक्षणका लागि पठाइएको थियो । सुरुमा कोरोना भाइरस पुष्टि भएका एक जनालाई खेखडाकै स्थानीय अस्पतालमा राखिएकामा पछि सबै संक्रमित नेपालीलाई मेरठको कोभिड–१९ संक्रमितका लागि छुट्याइएको अस्पतालमा राखिएको समेत यादवले बताए । उनका अनुसार हाल उनीहरूको अवस्था सामान्य छ ।

    यसअघि दिल्लीको निजामुद्दिनमा भएको तबलिगी भेलामा सहभागी अर्का एक नेपालीमा पनि कोरोना संक्रमण देखिएको थियो । दिल्लीको भेलामा सहभागी भएर अन्य सात जना नेपालीसहित हरियाणाको अम्बाला पुगेका पर्सा निवासी ६६ वर्षीयमा पनि संक्रमण पुष्टि भएको थियो । उनी अम्बालाकै सिटी अस्पतालमा दस दिनको उपचारपछि निको भइसकेका छन् ।

    नयाँदिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका पर्सा निवासी ती नेपालीलाई २ अप्रिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्कालै अम्बालाकै सिटी अस्पतालमा राखिएको थियो । संक्रमित बिरामी इस्लामिक भेलाकै सहभागी अन्य सात जना नेपालीसहित अम्बला पुगेका थिए । उनीहरू अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । त्यही क्रममा प्रहरीले उक्त मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो ।

    त्यसपछि उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरेन्टाइनमा पठाएको थियो । क्वरेन्टाइनमा पठाइएका नेपालीहरूमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो । अन्य सात नेपाली पनि पर्साकै हुन् ।

    खेखडामा संक्रमण पुष्टि भएका थप तीन जनासहित भारतमा कोभिड–१९ संक्रमित नेपालीहरूको संख्या १५ पुगेको छ । तीमध्ये १० जना भारतमा काम गर्न बसेका नेपाली हुन् । बाँकी पाँच जना इस्लामिक भेलाका लागि नेपालबाट आएकाहरू हुन् । कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार