Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाढीले जोखिममा बेल्हीगाउँ, डेढ दशकमा ७ सय बिघाभन्दा बढी जमीन कटान

सप्तरी । केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताउनुभयो । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको र १२/१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउँछन् । धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गरे । बलानखोलाले यादवको घर, इनार लगेपछि अन्यत्र सर्नुभएको छ । खोलाकै कारण साविकको बेल्ही गाविस–१ का ५०/६० घर बसाइँ सरेको यादवले बताए ।

खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इञ्जीनियर नवीनकुमार झाले बताए । झाले वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने बताए ।

चुरे जङ्गलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ ।

वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत हुँदै गएको छ । धनी किसान र जमिन्दारको गाउँ भनेर चिनिने बेल्ही अहिले खाद्य सङ्कटको मारमा छ । बालुवाले खेत पुर्दै मरुभूमि बनाउँदै लगेपछि गाउँलेहरु रित्तो बन्दै गएका छन् ।

“वर्षाको आरम्भमै १२/१३ बिघा जमीन कटान गरिसकेको छ”, स्थानीय काशिन्द्र गामी साहले भने, “पहाडतिरसमेत ठूलो वर्षा भएपछि यो वर्ष पनि दर्जनौँ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुग्नेछन् ।”

स्थानीय सरकारको पहिलो ध्यान बलानखोला नियन्त्रणमा जानुपर्नेमा कुनै प्रयास नभएको साहले बताए । उपभोक्ता समिति बनाएर अनावश्यक खर्च गरिरहेको स्थानीय तहले तीन वर्षदेखि बलानखोला नियन्त्रणमा कुनै लगानी नगरेको उनले बताए ।

बलानखोलाबाट पीडित उमेश भन्छन्, “खोला नियन्त्रणका लागि बजेट विनियोजित हुन्छ र पनि काम हुँदैन, पैसा फर्केर जान्छ नभए भ्रष्टाचार हुन्छ ।” प्रत्येक साल झण्डै ५० बिघा जमीन खोलाले निलिरहेको उहाँले गुनासो गरे।

“प्रत्येक वर्ष आउने बाढीले पुर्‍याएको क्षति हेर्न स्थानीय प्रशासनदेखि मन्त्री, सांसदले भ्रमण गर्छन्, ठूला आश्वासन बाँडछन् तर वर्षा सकिएपछि सबैले बिर्सन्छन् ।” बलानबिहुल गाउँपालिका निवासी प्रधानाध्यापक दिनेश्वर यादवले भने, “गाउँ क्रमशः बगर बन्दैछ तर गाउँ जोगाउने कोही देखिएन ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077