Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोलखामा बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

दोलखा । पश्चिमी दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा यात्रुबाहक बस दुर्घटना भएकाे छ। शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दोलखाको पवटीस्थित सिम्टेमा दुर्घटना भएकाे हाे। दुर्घटनामा परी २ महिलासहित तीनजना गम्भीर घाइते भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख असई राजकुमार दुलालले दिएका छन्।

बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ। गम्भीर घाइतेमध्ये दुई जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याइएको र एक महिलाको बसले हात च्यापिरहेकोले निकाल्ने प्रयास भइरहेको असई दुलालले जानकारी दिए। सामान्य घाइते भएको ६ जनालाई पनि सोही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

बसले हात च्यापिएकी महिला मेलुङ गाउँपालिका–१, पवटीकी गोमा लकाई रहेकी छिन्। उनलाई जेसीबीको माध्यमबाट गाडीलाई उठाएर उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त गौरीशंकर यातायातका चालक र सहचालक सम्पर्कविहीन रहेको र गाडी धनीको समेत खोजी भइरहेको असई दुलालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077