Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजदूत अर्याल भन्छन् - लेबनान विस्फोेटमा नेपाली समुदायलाई क्षति भएको छैन

काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोेटमा त्यहाँ रहेको नेपाली समुदायलाई कुनै पनि क्षति नभएको इजिप्टको कायोरोस्थित नेपाली दूतावासले जनाएको छ। कायरोस्थित नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ ।

इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले बुधवार बेलुकासम्म त्यहाँ रहेका सबै नेपालीहरु सुरक्षित रहेको जानकारी आफूहरुले पाएको बताए। घटना भएपछि दूतावास र लेबनानमा रहेको नेपाली कन्सुलेटले बेरुतमा रहेको नेपाली समुदाय र त्यहाँको सम्बन्धित निकायसँग नेपालीहरुको अवस्थाबारेमा निरन्तर अपडेट लिइरहेको राजदूत अर्यालले बताए। दूतावासले त्यहाँको स्थानीय नागरिकलाई नेपाली कन्सुलरको रुपमा नियुक्त गरेको छ।

‘हामी हिँजोदेखि नै त्यहाँ रहेको नेपाली समुदाय, हाम्रो कन्सुलेट र गैरआवासीय नेपाली संघसँग निरन्तर सम्पर्कमा छौँ,’ कायोरोबाट डिसी नेपालसँग टेलिफोनमा उनले भने, ‘अहिलेसम्म कुनै पनि नेपालीलाई क्षति भएको छैन। भगवानको कृपा भनौँ ! सबै जना सुरक्षित हुनुहुन्छ।’

राजदूत अर्यालका अनुसार विस्फोेट भएको एरिया नजिकै रहेका केही होटलहरुमा नेपालीहरु कार्यररत छन्। उनीहरु पनि सबैजना सुरक्षित नै रहेको राजदूत अर्यालको भनाई छ ।

बेरुतको एक होटलमा कार्यररत गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापाले पनि विस्फोेटनमा नेपाली समुदायलाई कुनै पनि क्षति नभएको जानकारी दिए। नेपाली बसिरहेका घरहरुमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको उनको भनाई छ। ‘विस्फोट भएको एरिया नजिकै धैरै नेपालीहरु कार्यररत छैनन्,’ उनले भने, ‘ त्यहाँ नजिकै रहेका केही नेपालीहरु हाम्रो निरन्तर सम्पर्कमा हुनुहुन्छ। उहाँहरु सबै सुरक्षित नै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077