Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली युवतीलाई बिहे गर्ने प्रलोभन देखाएर ४८ लाख ठगी गर्न खोज्ने विदेशी नागरिक पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले विवाह गर्छु भन्दै नेपाली युवतीलाई ठगी गर्न खाेज्ने अंगोलाका नागरिक  सिल्भा एन्टिनियो डी कोस्टालाई पक्राउ गरेकाे छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा मार्क आरोन नामबाट उनले  नेपाली युवतीलाई विवाह गर्छु भन्दै ४८ लाख ठगी गर्न खोजेपछि पक्राउ परेका हुन् ।

उनले ती युवतीसँग सामाजिक संजालमा चिनजान गरी आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर विवाह गर्छु भनि प्रलोभन देखाएर ठगी गर्न खोजेका थिए।

कोस्टाले नयाँ वर्षका अवसरमा हीराको औंठी, सुनको सिक्री र दुई लाख ३० हजार पाउन्ड पठाउँदै छु भनेर ती युवतीलाई ती सामग्रीको तस्बिर पठाएका थिए। महाशाखाका अधिकारीका अनुसार पटक गरी युवतीलाई ४८ लाख ५४ हजार रुपैयाँ  पठाउन लगाई कोस्टाले ठगी गर्न खोजेका थिए ।

उनले २० लाख रुपैयाँ भन्सार छुटाउनको लागी आवश्यक परेको भनि बानेश्वर एभरेष्ट होटलमा बोलाएका थिए । एभरेष्ट होटलमा पुगेर सम्पर्क गर्दा उनले फेरी होटल सोल्टिमा बोलाए ।

त्यसपछि अपराध महाशाखाबाट खटिएको टोलीले कोस्टालाई पक्राउ गरेको हो । महाशाखाको टोलीले ठमेलस्थित उनी बसेको होटलको कोठा खानतलासी गर्दा  ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकी डलर, नक्कली जस्तो देखिने १ हजार दरका ३ नोट, विभिन्न देशका मुद्रा, ल्यापटप बरामद गरेको छ ।

 अनुसन्धानको क्रममा उनले सोही दिन एक अर्की युवतीलाई पनि प्रलोभन देखाइ  ३७ हजार नगद ठगेका थिए  । प्रहरीले उनको साथबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागज समेत बरामद गरेको छ ।

उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भईरहेको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

कोस्टाविरुद्ध ठगी र खोटाचलन मुद्दामा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको एसएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077