काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ का संक्रमितको उपचार गर्ने कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।
तर, वीर अस्पतालभित्र भित्रै यति लथालिंग छ कि तपाई हामी कल्पना पनि गर्न सक्दैनौं । कोभिड उपचार ब्यवस्थापनमा ब्यापक अनियमितता गरेको आरोप खेपेका निर्देशक डा. केदार सेन्चुरीमाथि फेरि अर्को आरोप लागेको छ ।
वीर अस्पतालका कर्मचारीहरुले नै डा. सेन्चुरीमाथि डोनेशनमा आएको स्वास्थ्य सामाग्रीको बिल बनाएर अनियमितता गरेको आरोप लगाएका हुन् ।
१९० जना करार, अस्थाई र ज्यारादारी कर्मचारीलाई छ महिना म्याद थप गर्ने स्वास्थ्य मन्त्रालयले निर्देशन दिए पनि दुई महिनामात्र म्याद थप गरेर कर्मचारीको हित विपरित काम गरेका डा. सेन्चुरी एक पछि अर्को काण्डमा फस्दै गएका छन् ।
यस्तो महामारीका बेला काम गरिरहेका कर्मचारीहरुलाई भदौ मसान्तसम्म म्याद थप गरेका उनले असोजदेखि सबै कर्मचारी हटाएर नयाँ कर्मचारी भर्ना गर्ने योजना बनाएको कर्मचारी यूनीयनका सदस्यहरुले आरोप लगाएका छन् ।
त्यसो त नयाँ कर्मचारी भर्नामा आर्थिक अनियमितताको गन्ध आएको पनि वीर अस्पताल स्रोत बताउँछ । ‘ डा. सेन्चुरीको अब चार महिना मात्र सेवा अबधि बाँकी छ । यही मौकामा कमाउ धन्दामा लागेका छन् ।’ प्रशासनका एक कर्मचारीले बताए ।