Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तराईमा लुटेरा समूहद्वारा तिघ्रामा गोली प्रहार गरी नगद लुटपाट, अपराधका घटना बढ्दै

सर्लाही । केही समयदेखि तराईका जिल्लामा अपराधका घटना बढ्न थालेका छन्। सामान तस्करीदेखि हत्या धम्कीमा फिरौती उठाउने गिरोह नै सक्रिय भएको बिभिन्न घटनाहरुले देखाएको छ।

अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । पूजारी हत्यादेखी बारामा प्रहरी हबल्दारकै छोराको हत्या घटनामा प्रहरीको अनुसन्धान आलोचित बनेको छ।  तराईमा असुरक्षा बढ्नुको मुख्य कारण भारतबाट भित्रिएको अवैध हतियार रहेको प्रहरी अधिकारीहरु वताउँछन्।

राजस्व छल्न तस्करी गर्ने प्रवृत्तिले पनि अपराध र अपराधी बढाएको छ।

बुधवार मात्र लुटेरा समूहले गोली चलाएर सर्लाहीमा नगद लुटपाट गरेको छ । लुटेरा समूहको गोली प्रहारबाट कविलासी नगरपालिका वडा नम्बर-३, विनगराका अन्दाजी ४० बर्षीय सुरेन्द्र चौधरी घाइते भएका छन् ।

चौधरीलाई बुधबार अपराह्न ३ बजेको समयमा मदनपुरबाट चक्रघट्टा बजारतर्फ आउँदै गर्दा दुई जनाको समूहमा आएका लुटेराहरुले बायाँ तिघ्रामा गोली प्रहार गरेका थिए ।

चौधरीले विनगरास्थित आफ्नो घरबाट मोटरसाइकलमा ३ लाख रुपैयाँ लिएर एनआइसी एसिया बैंकको चक्रघट्टा शाखामा डिपोजिट गर्न जाने क्रममा लुटेराले बिच बाटैमा मोटरसाइकल रोकेर लुटपाट गर्न खोजेका थिए ।

चौधरीले प्रतिकार गरेपछि उनीहरुले चौधरीमाथि गोली प्रहार गरेका थिए । चौधरीको बायाँ तिघ्रामा गोली लागेको छ भने उनलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

गोली प्रहार गरी ३ लाख रुपैयाँ लुट्ने लुटेराहरुको ब्यापाक खोजी भइरहेको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।  गोली प्रहार गर्नुको मुख्य कारण नै चौधरीसँग रहेको रकम लुट्नु रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077