काठमाडौं ।निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित भएको छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि स्थगित भएकाे हाे।
आगामी असोज २४ गतेका लागि तोकिएको निर्वाचनको लागि निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भैसकेको थियो । तर अन्तिम अवस्थामा चुनाव रोकिएको छ । कोरोनाको महामारी फैलिइरहेको अवस्थाका कारण चुनाव रोक्न प्रस्ताव पेश भएको र मन्त्रिपरिषद्ले सो प्रस्ताव पारित गर्दै अर्को निर्णय नहुन्जेलसम्मका लागि चुनाव स्थगित गरेको एक मन्त्रीले बताए । कोरोनाको कारण भनिएपनि चुनाव सर्नुको कारण भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति रहेको बताइन्छ ।
नेकपाले पार्टी एकीकरण गरेपनि अहिलेसम्म कर्मचारी संगठनको भने एकता हुन सकेको छैन । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले सम्बद्ध राष्ट्रिय निजामती संगठन र नेपाल निजामती संगठनको एकता प्रक्रिया पूरा हुन सकेको छैन । यस्तोमा चुनाव गरिहाल्नु उपयुक्त नहुने नेकपाको बुझाई रहेको बताइएको छ ।
यो विषयमा आइतबारको सचिवालयको बैठकमा पनि कुरा उठेको थियो । अन्य विभागको एकता बिस्तारै गरेपनि कर्मचारी संगठनको एकता गरिहाल्ने विषयमा बैठकमा छलफल भएको थियो । तर कर्मचारी संगठनको एकताअघि चुनाव गर्न नहुने नेकपाको मत भएकाले पनि निर्वाचन सार्ने तयारी भएको बताइएको छ । नेकपाको आज बस्ने सचिवालय बैठकले पनि यो विषयलाई अघि बढाउने तयारी गरेको छ ।