Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापाले भने- कुर्सी तोडफोड संसदीय मर्यादा र प्रतिष्ठा विपरीत

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रदेश ५ काे संसद भित्र भएकाे व्यवहार प्रति आपत्ति जनाएका छन्।  प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत रहेकाे मंगलबार विहान समाजिक सञ्जाल मार्फत उनले बताएका हुन्।

उनले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताए।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ। प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो। प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।'

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए।


 

https://www.facebook.com/thapagk/posts/3492446614132559

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077