Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज्यमन्त्री दुगड नै गैरकानुनी धन्दामा, कारवाहीको तयारी

    राज्यमन्त्री दुगड नै गैरकानुनी धन्दामा, कारवाहीको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।

    राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ ।



    नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।



    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए ।

    राज्यमन्त्री दुगडले  नुनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौखिक सम्झौता भएको बताएका थिए । तर, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नुनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताए ।

    उनले कुनै पनि व्यापारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले नुन प्याकेजिङ गरी आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न दिने कानुनी अधिकार नै नभएको बताए । उनले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनले व्यापारीलाई आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न अनुमति दिन सरकारको निर्णय र निर्देशन हुनुपर्छ । हामीलाई सरकारबाट कुनै निर्देशन आएको छैन । साल्ट ट्रेडिङलाई सरकारले वर्षौंदेखि आम नागरिकलाई देशैभरि आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।’

    उनले धेरै व्यापारीले आफ्नो कम्पनीको ब्रान्डमा नुन प्याकेजिङ गरेर बजारमा महँगो मूल्यमा बिक्री गर्न चाहेको पनि बताए । यदि सरकारले अत्यावश्यक वस्तु नुन अन्य व्यापारीलाई आफ्नो कम्पनीको ब्रान्डमा प्याकेजिङ गर्न दिने हो भने सर्वसाधारण उपभोक्तालाई नुन किनेर खान पनि मुस्किल पर्ने उनको भनाइ छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङका लागि विभागबाट हालसम्म अनुज्ञापत्र नलिएको बताए ।

    उनले अनुज्ञापत्रविना नै बजारमा बिक्री वितरण गरेको छ भने खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कारबाही हुने बताए । प्रवक्ता महर्जनका अनुसार अनुज्ञापत्रविना नै उद्योगबाट खाद्य वस्तु प्रशोधन उत्पादन र प्याकेजिङ गरी बिक्री वितरण गरेमा १० हजार रुपैयाँ जरिमाना र गुणस्तरहीन खाद्य वस्तु झुक्याएर बिक्री गरेको छ भने ५० हजार जरिमाना वा ५ वर्ष कैद वा दुवै हुने सक्ने कानुनी प्रावधान रहेको छ,कौशिला कुँवरले राजधान्नी दैनिकमा समाचार लेखेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार