काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उच्च अदालत पाटनबाट ४५ दिन कैद र ७० लाख जरिवाना ठहर भई फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको मिति २०७५/१२/१० र २०७६/११/२७ गतेका फैसलाहरुले साविक बिरगञ्ज नगरपालिका–८ हालको बिरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने बर्ष ५८ को सत्य नाराण प्रसाद रौनियारलाई ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेको थियो । तर, उनी त्यतिबेलादेखिनै फरार हुँदै आएका थिए ।
सिआईबीको टोलीले विशेष सूचनाको आधारमा हिजो रौनियारालाई रातोपुल, काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका रौनियारलाई फैसला कार्यान्वयनको लागि मिति आजै सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको सिआईबी प्रमुख डिआर्यजी सहकुल थापाले जानकारी दिए ।
रौनियाराले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानकारी हुँदा हुँदै पनि २ वर्ष अघि मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीलाई झुक्याई सापटी लिएको रकम फिर्ता गर्नका लागि भन्दै बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख बराबरको चेक दिएका थिए ।
सोही मुद्दामा उच्च अदालत पाटनले बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम रौनियारालाई ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेको थियो ।