Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडन को हुन्?

    अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडन को हुन्?

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 6.3K
    SHARES

    एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।

    डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्।



    सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।



    जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन्।

    बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए।

    अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

    उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन्।

    भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन्

    एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिएस् ‘मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे।’

    उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए।

    तर, वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् ( उनले त्यो वाक्य )र अन्य कैयौँ वाक्य एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए।

    पछि ‘जो बम’का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो।

    सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, ‘मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा।’

    विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो। २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए।

    राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए।

    उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए ‘अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।’

    तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने। मतदाताहरूसँगको भेटघाटमा बाइडन निकै सहजरूपमा प्रस्तुत हुन्छन्

    उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ।

    रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्।

    बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्।बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन्।

    खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। बाइडनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कैयौँ आरोप खेपेका छन्।

    गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए।

    अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे।

    प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए।

    तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन्।

    बाइडनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो।

    सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण बाइडनले राम्रो गर्ने उनका समर्थकको आशा छ।

    वाशिङ्टनमा उनको धेरै अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष।

    करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन्।

    सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए

    अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन्।

    सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए।

    यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ।

    ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए।

    कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ।

    उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्।

    सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले। बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार