Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अचम्मको अपराध : रौतहटमा बुबाआमाले नै सुपारी दिएर आफ्नै छोरीको हत्या गरे

    अचम्मको अपराध : रौतहटमा बुबाआमाले नै सुपारी दिएर आफ्नै छोरीको हत्या गरे

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    रौतहट । दुई साताअघि माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा युवतीको गोली हानी हत्या भएको घटनामा बुबाआमा नै संलग्न रहेको खुलेको छ ।

    छोरीको प्रेम अस्वीकार गर्ने क्रममा बुबाले रकम दिएर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।



    प्रहरीले युवतीका बुबाआमालगायत ६ जनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।



    गत कात्तिक २६ गते राति लौकाहा टोलका रामअयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृताकुमारीलाई आमा सीतादेवीसँग सुतिरहेको अवस्थामा हतियारधारी समूहले दाहिने कञ्चटमा गोली हानी हत्या गरेको थियो । प्रहरीले मृतकका ५५ वर्षीय बुबा, आमा, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनियाका शेख अलियास, इस्लाम अन्सारी, शेख इम्ताज र परोहा नगरपालिका–४ का छोटेलाल साहलाई पक्राउ गरेको थियो ।

    विवाहित छोरी अमृताको सम्बन्धविच्छेदपछि अर्कैसित प्रेम सम्बन्ध रहेको अभिभावकले थाहा पाएपछि इज्जतकै लागि हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । ‘छोरीको अर्कै केटासितको प्रेम अस्वीकार गर्ने क्रममा अभिभावकले रकम दिएर छोरीको हत्या गर्न लगाएको खुलेको छ,’ उनले भने, ‘छोरी अर्कै केटासित भाग्ने र इज्जत जाने डरले हत्या गरेको रहेछ ।’

    २०७७ असारमा रूपेश र अमृताबीच सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि रूपेशले जिल्ला प्रहरी सर्लाहीमा अमृता र उनका प्रेमी सोसिन्द्रमाथि ज्यान मार्ने उद्योगको मुद्दा दिए । दुवैको प्रेम सम्बन्धलाई माइती पक्षले समेत स्विकारेका थिएनन् । छोडिसकेको श्रीमान्बाट मुद्दा दर्ता भएपछि छोरी पक्राउ पर्ने र इज्जत जाने भन्दै अमृताका अभिभावकमा डर पैदा हुन थाल्यो । त्यहीमाथि छोरी प्रेमीसँग भागेर जाने अर्को त्रास थपिएको बुबाआमाले प्रहरीसमक्ष बताएका छन् ।

    यही कारण बुबा रामअयोध्या र अमृताका भिनाजु देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मीनियाका लक्ष्मण साह मिलेर परोहा नगरपालिका–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई अमृतालाई मार्ने योजना बुने । कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लैजाने र उतै हत्या गर्ने योजना बनाए पनि सफल हुन सकेन । कात्तिक २६ गते फेरि देवाही गोनाही–२ लक्ष्मीनियाका कैमुल देवानलाई १ लाख रकम दिई गोली हान्न लगाएर हत्या गरे ।

    योजना मुताबिक सँगै सुतेकी आमा सीता शौचालय गएकी थिइन् । त्यही बेला हतियारधारी पसेर अमृताको कञ्चटमा गोली प्रहार गरी फरार भएका थिए । घटनापछि बुबा, आमाले गोली हानेर छोरीको हत्या गरेको भनेर नाटकीय ढंगले चिच्याएर छिमेकीहरूलाई हारगुहार गरेका थिए । एसपी शाहले पक्राउ परेकाहरूले हत्या स्विकारेको बताए,आजको कान्तिपुरमा खबर छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार