Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दिल्लीमा नेपाल – भारत सीमा विवादबारे कुरा उठ्यो

    दिल्लीमा नेपाल – भारत सीमा विवादबारे कुरा उठ्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.4K
    SHARES

    एजेन्सी। नेपाल र भारतका विदेशमन्त्रीहरूको शुक्रवार दिल्लीमा भएको बैठकमा सीमा विवादबारे कुरा उठेको र कोरोनाभाइरस विरुद्धको खोपका विषयमा नेपालको ‘आशा अनुरूपको आश्वासन’ भारतबाट पाइएको दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्।

    राजदूत नीलाम्बर आचार्यले भारतबाट नेपालले शीघ्र खोप पाउनेबारे आश्वासन पाएको बताए।



    उनले भने, ‘नेपालमा सुरुवाती चरणकै लागि भारतबाट खोप उपलब्ध हुनेछ।’



    सुरुवाती चरणमा अग्रमोर्चामा काम गर्ने ३ प्रतिशतका लागि नेपालले खोप ल्याउन चाहेको र त्यो मात्रा नेपालमा मौजुदा भण्डारण क्षमताले धान्ने अधिकारीहरूले बताउने गरेका छन्। सीमाका विषयमासमेत वार्ताबाट र दुईदेशबीचको संयन्त्रबाट विवाद समाधान गर्नुपर्ने कुरा उठेको राजदूत आचार्यले बताए।

    आयोगको बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच एक्लाएक्लै वार्तासमेत भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

    नेपाल-भारत संयुक्त आयोगको यसअघिको बैठक सन् २०१९ को अगस्टमा काठमाण्डूमा भएको थियो।

    नेपालको परराष्ट्र मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा बैठकमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरेको थियो।

    तर ज्ञवाली दिल्ली पुगेकै दिन बिहीवार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ताले सीमाका विषयमा हुने संवादकाबारे भिन्न टिप्पणी गरेका थिए।

    पत्रकारहरूले सीमा विवादसम्बन्धी संवादका विषयमा सोधेको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका थिए, ‘सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ। र म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग र सीमा बैठक फरक-फरक संयन्त्र हुन्।’

    भ्रमणअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा ‘नेपालले भारतले अतिक्रमण गरेको भूमी भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने’ बताएका थिए।

    तर शुक्रवारको बैठकमा सीमाको विषय कुन रूपमा उठ्यो भन्ने चाहिँ राजदूत आचार्यले खुलाउन चाहेनन्।

    बैठकपछि भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबारे केही उल्लेख नगरिकन ‘सीमा व्यवस्थापन’बारे छलफल भएको जनाइएको छ।

    सो बैठकमा दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको ईपीजी प्रतिवेदन ‘बुझ्नुपर्छ’ भन्नेबारे कुरा भएको तर त्यो ‘कहाँ, कहिले र कतिखेर’ भन्ने टुङ्गो नभएको राजदूत आचार्यले बताए।

    भारतीय पक्षको विज्ञप्तिमा ईपीजीको कुरा समेत उल्लेख छैन। खोपका सम्बन्धमा गएको डिसेम्बर महिनामा परराष्ट्रमन्त्री ज्ञवालीले एस जयशङ्करलाई पत्र लेख्दै नेपालको कुल जनसंख्याको २० प्रतिशतका लागि खोप प्राप्त गर्न सहयोग गर्न अनुरोध गरेका थिए।

    अघिल्लो वर्ष भारतले कालापानी क्षेत्रहुँदै तिब्बत जोड्ने एउटा सडक उद्घाटन गरेपछि नेपालले त्यसप्रति विरोध जनाउँदै लिम्पियाधुरासम्म समेटिएको आफ्नो नयाँ नक्सा जारी गरेको थियो।

    जसलाई भारतले अस्वीकार गरेपछि दुवै देशबीच कूटनीतिक स्तरमा चिसोपन देखापरेको थियो।

    त्यसअघि कश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्र सहितको भूभाग समेटेर नक्सा जारी गरेपछि पनि नेपालले विरोध गर्दै भारतलाई कूटनीतिक पत्र पठाएको थियो।उक्त विवादपछि भारततर्फबाट त्यहाँका बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्र सचिवले नेपालको भ्रमण गरिसकेका छन्।

    ज्ञवालीको भारत भ्रमण उक्त विवादयता नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो। -बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार