Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीलाई रेनुको जवाफ – एक दिन सुटुक्क आएर ढुंगापूजा गर्दैमा सिटी हल र सडक निर्माण हुँदैन

    ओलीलाई रेनुको जवाफ – एक दिन सुटुक्क आएर ढुंगापूजा गर्दैमा सिटी हल र सडक निर्माण हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 6.1K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् ।

    शनिबार चितवन आएका प्रधानमन्त्री  केपी शर्मा ओलीले सिटी हलको शिलान्यास गरेका थिए। उनले मेयर रेनु दाहाल पिकनिक खान गएर कार्यक्रममा सहभागी नभएको भन्दै गुनासो गरेका थिए। चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मेयर रेनुले यस्तो बताएकी हुन् ।



    भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् । उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् ।



    प्रधानमन्त्री ओली एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै मेयर रेनुले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

    मेयर रेनुले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् ।

    राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर रेनुले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

    आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनुले वीर बलभद्र कुँवरलगायतका विभूतिहरूको ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । उनले विभूतिहरुले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र राज्यको दायित्व भएको बताइन् ।

    मेयर रेनुले कुँवरले तत्कालिन इष्ट इन्डिया कम्पनीको अंग्रेज सेनासँग ऐतिहासिक र साहसिक लडाइँ लडेको इतिहास स्वर्ण अक्षरले लेखिएको बताउँदै पानीकै भरमा खुकुरीको बलमा लडाइँ लडिएको बताइन् ।

    कार्यक्रममा कुँवर समाज नेपालका सल्लाहकार नारायण सिंह कुँवरले कुँवर समाजको छुट्टै पहिचान र भूमिका रहेको बताउँदै वर्तमान नेपालको पहिचान कायम राख्न वीरतापूर्ण लडाइँ राष्ट्रिय विभूति बलभद्र कुँवरले अंग्रेजसंगको लडाइँमा सीमित घरेलु हतियार र फौजसंगको लडाइँमा ऐतिहासिक बहादुरी प्रस्तुत गरेको बताए ।

    कार्यक्रममा समाजलाई उल्लेख्य सहयोग पुर्याउने व्यक्तिहरु र पूर्ण कदको सालिक निर्माणको लागि सहयोग पुर्याएका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार