Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुको गज्जबको सेटिङ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यसलाई गज्जबको सेटिङ भएको आरोप लगाएका हुन् । उनले एसिड आक्रमणविरुद्धको कानुन रोक्न प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाए ।

उनले यस्तै हुन्छ भनेर आफूले संसद विघटन गरेको समेत बताए । ‘दुर दिन देख्नु थियो पुनर्स्थापना भयो’ भन्दै ओलीले भने, ‘कमसेकम मेरै मेख मार्न पनि हिजो त चुप लागेर बस्नु पर्थ्यो ।’

तर पहिलो दिन नै बेल घेराउ गरेर नारा लगाएको भन्दै ओलीले भने, ‘के बिग्रियो भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । सक्छौ भने फेल गरे भइगो नि । फेल गर्ने आँट कसैको छ ? छैन । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन । त्यसकारण अध्यादेश पेश गर्न पाइँदैन भनेर नाराबाजी ।’

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई समारोहमा सम्मान गरिसकेपछि बोलेका ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्ने हिम्मत नभएकाले पेश गर्नै नदिएर अवरोध गरेको आरोप लगाए ।

‘कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन् ? के हतार थियो थाहा छैन । केहीले बेल घेरेर नारा लगाए’ ओलीले भने, ‘संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा भने जस्तो ।’

‘यतिबेला देश चुनावमा जान्थ्यो। राम्रो सरकार बन्थ्यो । मुद्दा हालेर त्यसलाई रोके । अनि संसद पुनर्स्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन, एसिड आक्रमणका विरुद्धको कानुन पास गर्न नदिनका लागि पो बोलाएको रहेछ,’ ओलीले भने।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रचण्ड-माधव समूहले बैठक बहिस्कार र कांग्रेस जसपाले नाराबाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077