Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

एजेन्सी। दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।

आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ ।

म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन् । यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो ।

बंगलादेशले रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहिङ्ग्या शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् ।

रोहिङ्ग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए ।-रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077