Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३७ वर्षपछि घरेलु मैदानमा ट्रफि उचाल्यो नेपालले, बंगलादेश २–१ गोल अन्तरले पराजित

काठमाडौं । काठमाडौंमा सम्पन्न त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दशरथ रङ्गशालामा साँझ ५ बजेर ३० मिनेटमा सुरु भएको खेलको पहिलो हाफमा २–० गोल अन्तरले अग्रता लिएको नेपालले अन्तत २–१ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हो ।

जर्सी नम्बर २४ का संजोग राईले १८ औं मिनेटमा बंगलादेशविरुद्ध गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी विशाल राईलले ४२औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए ।

राईले पहिलो गोल गर्ने वित्तकै फाइनल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर ताली बजाउँदै खेलाडीहरुलाई हौसल्ला दिएका थिए ।

पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको थियो । बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।

त्रिदेशीय कपमा १ गोल पनि नगरेको नेपाल प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो । बङ्गलादेशले भने शीर्ष स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा नेपालले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो । यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ ।

नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। सन १९९९ मा नेपालमा भएको दक्षिण एशियाली खेलकुद खेलमा बंगलादेशले नेपाललाई हराएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नेपालका संजोग राई घोषित भएका थिए भने प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भएका थिए । उनीहरुले क्रमशः २५० डलर र ५०० डलर पाएका थिए ।

विजेता नेपालले ५ हजार डलरसहित ट्रफी हात पारेको थियो ।

त्यस्तै उपविजेता बंगलादेशदले तीन हजार डलर बराबरको पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077