Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा सर्ने ?’

काठमाडौँ। आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ । बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् ।

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ । भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

स्थानीयवासीले ‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने ?’ भन्दै विरोध गरेका थिए । विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निर्णय लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077