Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

निषेधाज्ञामा गर्न पाइने र नपाइने कुराहरू के-के हुन् ? उल्लङ्घन गरे कस्तो सजाय ?

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरूले भोलि (बिहीवार) बिहानबाट एक साताका लागि निषेधाज्ञा कार्यान्वयनमा ल्याउँदैछन्।

सीमावर्ती पर्सा जिल्लाले पनि बिहीवारबाटै एक हप्ते निषेधाज्ञा लागु गर्दैछ भने धेरै सङ्क्रमण देखिएको बाँके जिल्लामा वैशाख १२ गतेदेखि निषेधाज्ञा कार्यान्वयनमा आइसकेको छ।

देशको प्रमुख पर्यटकीय क्षेत्र पोखरा पर्ने कास्की जिल्लामा वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासनहरूको आदेशमा एकअर्काभन्दा केही बुँदाहरू कमबेस भए पनि चेन ब्रेक अर्थात्‌ सङ्क्रमण फैलावट रोक्नु निषेधात्मक कदमको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू हुने निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने आदेशमा उल्लेख छ।

के गर्न पाइन्छः


  • व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी (दुलहा र दुलही पक्षसहित०)ले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न (पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने)

  • चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन

  • अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न
    एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न

  • सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न
    विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सञ्चालन गर्न

  • अस्पताल आउने-जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका लागि प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सवारी सञ्चालन गर्न

  • खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म

  • डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म

  • ब्याङ्क तथा वित्तीय संस्था, बिमा एवम्‌ राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न

  • सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न


के गर्न पाइँदैनः

  • सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न

  • अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन

  • अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन

  • खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन

  • यसअघि रेष्टुराँले टेकअवे सेवा दिन पाउने व्यवस्था भए पनि यसपाली जिल्ला प्रशासन कार्यालयहरूको आदेशमा यो विषयबारे केही उल्लेख गरिएको छैन।


उल्लङ्घन गरे के के सजाय ?

जिल्ला प्रशासन कार्यालयहरूले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञासम्बन्धी आदेश जारी गरेका छन्।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ।

उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन्। (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077