Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

अधिकारीले अस्पताललाई खाली सिलिन्डर मौज्दात ९होल्ड० नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गरेका छन् । साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आग्रह गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।

अधिकारीका अनुसार अहिले अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077