काठमाडौँ । लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसअघि आज बिहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्रविन्दु ५ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पमा परी पाँच जना घाइते तथा दर्जनौँ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । अहिले गएको भूकम्प सोही भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस गरिएको छ । आज गएका दुवै भूकम्प २०७२ को वैशाखमा गएको भूकम्पका परकम्प रहेको अधिकारीले बताए ।