Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रामदेवलाई पक्राउ गर्न भारतीय चिकित्सकहरूको माग, कोरोनाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोप

    रामदेवलाई पक्राउ गर्न भारतीय चिकित्सकहरूको माग, कोरोनाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतका चिकित्सकहरू आक्रोशित भएका छन्।

    उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए।  साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए।



    स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्।  तर सोमवार उनले केही रोगहरूको उपचार गर्न नसक्ने भन्दै पुनः आधुनिक चिकित्साको आलोचना गरेका छन्।लोप्याथी समेत भनिने आधुनिक चिकित्सा भारतीय चिकित्सा प्रणालीको मेरुदण्ड हो।



    तर त्यहाँ आयुर्वेद र होमियोप्याथीजस्ता चिकित्सा पद्धतिहरू पनि निकै लोकप्रिय छन्। रामदेवजस्तै धेरै गुरुहरूले जडीबुटी औषधिहरू र उत्पादनहरूको आडमा सफल व्यापार गरेका छन्।

    परम्परागत प्रणालीको प्रवर्द्धनका लागि भारतमा आयुर्वेद, योग र प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी मन्त्रालय पनि छ।

    एलोप्याथी चिकित्सकहरूको प्रतिनिधित्व गर्ने इन्डियन मेडिकल एसोसिएसन आईएमएले रामदेवको आलोचना गर्दै उनको अभिव्यक्तिलाई महामारीको मध्यमा गरिएको ‘असंवेदनशील’ कार्य भनेको छ।

    चिकित्सकहरूले लाखौँ अनुयायी भएका गुरुले दिएको त्यस्तो अभिव्यक्ति ‘अनुत्तरदायी र अनैतिक’ भएको बताए।

    अक्सिजन पाउन कोसिस गरिरहेका बिरामीहरूको खिसीटिउरी गरेको रामदेवको एउटा भिडिओ यसै महिनाको सुरुमा भाइरल भएको थियो।

    उनले कहिले त्यो अभिव्यक्ति दिएका थिए भन्ने स्पष्ट छैन तर उनले एप्रिल र मे महिनामा कैयौँ सहरहरूमा अक्सिजन अभाव भएको उद्धृत गरिरहेको सुनिएको छ।

    उनले त्यसमा भनेका छन्, ‘ईश्वरले हामीलाई सित्तैमा अक्सिजन दिएका छन्, किन हामी त्यसैको सास लिँदैनौँ?  जब ईश्वरले वायुमण्डलमै अक्सिजन भरिदिएका छन् भने कसरी त्यसको अभाव हुन्छ?

    ‘मूर्खहरू अक्सिजन सिलिन्डर खोजिरहेका छन्। सित्तैको अक्सिजनको सास लिनूस्। किन तपाईँ अक्सिजन अभाव, शय्या र शवदाहको अभावको गुनासो गर्नुहुन्छ?’

    उनको अभिव्यक्तिले चिकित्सकहरू र एलोप्याथिक उपचार गर्न चाहने कोभिड बिरामीका परिवारका सदस्यहरूको कडा आलोचना खेप्नुपर्‍यो।

    त्यसको दुई सातापछि अर्को भिडिओ बाहिरियो। त्यसमा उनले कोभिडबाट भएको मृत्युका लागि चिकित्सकहरूलाई आलोचना गरिरहेको सुनिन्छ।

    धेरै चिकित्सकहरूले आफ्नो आक्रोश पोख्ने माध्यम ट्विटरलाई बनाएका छन्। केहीले उनको पक्राउको माग समेत गरेका छन्।

    दबाव बढेपछि चिकित्सक एवम् भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले एउटा वक्तव्य जारी गर्दै रामदेवलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन भनेका थिए।

    उनले वक्तव्यमा भनेका छन्, ‘एलोप्याथी र चिकित्सकहरूले लाखौँ मानिसहरूलाई नयाँ जीवन दिएका छन्। तपाईँले एलोप्याथिक औषधिका कारण मानिसहरू मरे भनेर भन्नु निकै दुर्भाग्यपूर्ण कुरा हो।’

    ‘हामीले एक भएर चालिने कदमबाट मात्र यो युद्ध जित्तसक्छौँ भन्ने बिर्सनु हुँदैन। यो लडाइँमा हाम्रा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले मानिसहरूका जीवन बचाउन आफ्नो जीवन जोखिममा पारेका छन्। यो सङ्कटमा उनीहरूको मानव सेवाप्रतिको समर्पण अद्वितीय र अनुकरणीय छ।’

    आइतवार बाबा रामदेवले आफ्नो विवादित अभिव्यक्ति ट्विटरमार्फत फिर्ता लिएका छन्।

    तर त्यसको एक दिनपछि उनले आईएमएलाई किन आधुनिक चिकित्साले २५ थरी रोगको उपचार गर्न सक्दैन भन्ने प्रश्न गर्दै एउटा पत्र जारी गरेका छन्।

    त्यसले फेरि चिकित्सकहरूलाई क्रुद्ध बनाएको छ। – स्रोत: बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार