Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिकित्सकमाथि आक्रमण गर्ने ओली समूहका नेतासहित एकै परिवारका ३ जना पक्राउ

नेपालगञ्ज। बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रावतत्रयमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ । मानबहादुर लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता हुन् । उनकै नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती आक्रमण गरेको खुलिसकेको छ । राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समूहकी नेता शान्ता चौधरी निकट व्यक्ति हुन । राउतको अर्थमन्त्री बिष्णु पौडेलसँग पनि नजिकको सम्बन्ध रहेको बुझिएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।

मृतकका आफन्तहरूको आक्रमणबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ। अस्पताल विकास समितिका अनुसार घटनापछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेका छन् र काममा आउन मानिरहेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077