Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डीआईजीद्वारा स्वास्थ्यकर्मीमाथि सुरक्षाको ग्यारेण्टी,आक्रमण गर्नेविरुद्ध ज्यानमार्ने उद्योगको मुद्धा

बाँके। जिल्लास्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ ।

बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई आक्रमण गर्नेमा दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको हो ।

आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए । धानुकका अनुसार आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिएको छ र बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।

घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती समेत गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।

यसैगरी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले बताए ।

‘चिकित्सक र नर्सलाई सुरक्षाको प्रत्याभूति गराएका छौँ,’ डीआईजी धानुकले भने, ‘उहाँहरुमाथि हुने सवै थ्रेट व्यवस्थापन गर्छौँ ।’ आक्रमण गर्नेलाई कडा कारवाही गर्ने आश्वासनपछि स्वास्थ्यकर्मीले काम शुरु गरेका छन् ।

यस्तै, उक्त घटनाको छानबिन गर्न र दोषीमाथि कडा कारवाहीको माग गर्दै नेपाल चिकित्सक संघले हिजोको घटनालाई ब्ल्याक डेको घोषणा माग गरेको छ।

आज उक्त घटनाको बिषयलाई लिएर संघले एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको पछिल्लो घटनाले आत्मबल कमजोर बनाउने काम गरेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न पनि आग्रह गरिएको छ । संघले सो घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर ध्यान दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077