Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपप्रधानमन्त्री महतोलाई २४ घन्टाभित्र देश निकाला गर्न माग

काठमाडौं । नयाँ पार्टी, नेपालले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग गरेको छ ।

पार्टीले आज चेतावनी सहितको विज्ञप्ति जारी गरी महतोलाई देश निकाला गर्न माग गरेको हो । उक्त पार्टीले यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने भन्दै चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उपप्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

त्यसैगरी विज्ञप्तिमा सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीले जनाएको छ ।

महतोले उपप्रधानमन्त्री भएलगत्तै ‘यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु’ आफ्नो पार्टीको उद्देश्य रहेको बताएका थिए ।

उनले भनेका थिए–‘बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।’

यसैबीच महतोले फेरि पनि नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरेका छन् । शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए ।

उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट कैद सजाय माफी गराउन लागिएको पनि जानकारी दिएका छन् । उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077