Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतले कैलाश मानसरोवर सडकमा विष्फोट गर्दा नेपालमा क्षति

काठमाडौँ। छिमेकी देश भारतले भारतले कैलाश मानसरोवर सडकमा बिष्फोट गर्दा नेपालमा क्षति हुन पुगेको छ ।

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोमा समेत क्षति पुगेर भत्किएको हो ।

मङ्गलबार दिउँसो दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का स्थानीयवासी मुकेश बुढाथोकीका अनुसार कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा बिष्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको छ । उनका अनुसार प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताए ।

पछिल्लो समय भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतिरको सडकमा समेत क्षति पुगेको हो । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुङ्गा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ । अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पुर्याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुङ्गाले नदी थुनिने र नेपालतिर क्षति पुर्याउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार भारतीयले सडक निर्माणका क्रममा ढुङ्गा आएर अवरुद्ध भएको १५० मिटर लामो छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077