Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा सुनचाँदी व्यापारीमाथि गोली प्रहार, लाखौंको लुटपाट

रामनारायण यादव/ जनकपुरधाम। महोत्तरीमा एक व्यापारीमाथि गोली प्रहार भएका छन् । जिल्लाको सम्सी गाउँपालिका वडा नम्वर १ पर्सा बजारमा गएराति डाकाहरुको समुहले राजिव ज्वेलर्स सुन चाँदी पसलमा ९-१० जनाको समुहमा आएका डाकाहरुको समुहले लुटपाट गरेका छन् ।

डाकाहरुले लुटपाटको क्रममा चलाएको गोली लागेर पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । उनीसहित परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएका छन् ।

डाकाको गोली प्रहारबाट पसल संचालक साहको कम्मरमा गोली लागेको छ । उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

डाकाहरुको समुहले घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचन कुमारी साह र १७ वर्षीय छोरा राजिव साह घाइते भएका छन् ।

उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साहले आफ्नै घरमा सुनचाँदी पसल संचालन गर्दै आएका थिए । घरको पछाडीबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेको पीडित परिवारले बताए ।

डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १ सय ७२ तोला चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077