Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्लाहीमा जेसिबीले ठक्कर दिएर वडाध्यक्षको हत्या, ठेकेदारसहित चालक पक्राउ

सर्लाही । ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको जेसिबीको बकेटले ठक्कर दिएर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या भएको हो ।

राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर  बसेका थिए । शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो ।
विवादकै क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले वताए ।

एसपी राठौरले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको वताए । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु-याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077