Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चितवनको शिवशक्ति खाद्य उद्योगद्वारा नौ करोड राजस्व छली

चितवन। जिल्लाको रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ ।

अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।

विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरीद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित गरेको तथा सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको दाबी छ ।

उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु छ करोड ८६ लाख सात हजार र आयकरतर्फ रु दुई करोड ४१ लाख ३० हजार राजस्व छली गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077