Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिए ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे । 'हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्', उनले भने । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताए ।

नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उनले खेलमा अनुशासन अत्यावश्यक भएको बताए । 'टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ', प्रधानमन्त्री ओलीले भने । देशको विकास हुनका लागि खेलकूदको मात्र नभई चौतर्फी विकास आवश्यक भएको उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गरेका थिए।

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

नेपालका लागि संजोक राई र विशाल राईले एकएक गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो ।

पुरस्कृत हुनेमा चेम्जोङ, सञ्जोग, विशाल, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पाशवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077