Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलम्पिक फुटबल : अर्जेन्टिना, जर्मनी र फ्रान्स बाहिरियो, यी हुन् क्वाटरफाइनलमा स्थान बनाउने टोली

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन्। यससँगै क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको छ। स्वर्णका दाबेदार मानिएका केही ठूला टोलीले क्वाटरफाइनलमा नै स्थान बनाउन सकेनन्।

रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको छ। घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका छन्। त्यसअघि नै ब्राजिल, आइभरीकोष्ट, दक्षिण कोरिया र न्युजिल्याण्डले अन्तिम आठमा स्थान बनाइसकेका छन्।

बुधबार भएको समूह ए को खेलमा फ्रान्सलाई ४–० ले पराजित गरेपछि जापान समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। जापानका लागि ताकेफुसा कुबो, हिरोकी साकाई, कोजी मियोसी र डेइजन माएडाले एक–एक गोल गरे। फ्रान्सका रान्डल कोलो माउनीले ७२औं मिनेटमा रातो कार्ड पाएका थिए।

यसै समूहको अर्को खेलमा दक्षिण अफ्रिकालाई ३–० ले पराजित गर्दै मेक्सिको समूह उपविजेता बन्यो। खेलमा दुवै टिमका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए। मेक्सिकोका लागि एर्नेस्टो भेगा, लुइस रोमो र हेनरी मार्टिनले गोल गरे। दक्षिण अफ्रिकाका रेपो मालेफवले ५८औं र मेक्सिकोका कार्लोस रोड्रिगेजले ६६औं मिनेटमा रातो कार्ड पाएका थिए।

समूह ए मा जापानले तीनवटै खेल जित्दै अपराजित रह्यो। दुई खेल जितेको मेक्सिकोले ६ अंक जोड्यो। फ्रान्स भने ३ अंकसहित तेस्रो स्थानमा रहेर बाहिरियो। यस्तै दक्षिण अफ्रिका अंकविहीन रहँदै बाहिरियो।

यस्तै समूह सी बाट स्पेन समूह विजेता र इजिप्ट समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन्। अन्तिम खेलमा स्पेन र अर्जेन्टिनाले १–१ को बराबरी खेल्दा इजिप्टले अष्ट्रेलियालाई २–० ले हरायो। स्पेनका लागि मिकेल मरिनोले गोल गर्दै अग्रता दिलाए पनि टोमस बेलमोन्टेले अर्जेन्टिनाका लागि बराबरी गोल पर्काएका थिए।

अर्को खेलमा इजिप्टका लागि यासेर राएन र अमर हामदीले एक–एक गोल गरे। स्पेन ३ खेलबाट ५ अंक जोड्दै समूह विजेता बन्यो। इजिप्ट र अर्जेन्टिनाको समान ४ अंक भए पनि गोलअन्तरमा इजिप्ट अगाडि रहँदा अर्जेन्टिना अभागी बन्यो।

अब क्वाटरफाइनलमा जापानले न्युजिल्याण्डसँग, स्पेनले आइभरीकोष्टसँग, दक्षिण कोरियाले मेक्सिकोसँग तथा ब्राजिलले इजिप्टसँग खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077