काठमाडौं – नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७।७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँ मात्रै भएको छ। दुई आर्थिक वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान हो प्राधिकरण। तर, आर्थिक वर्ष २०७६।७७ को तुलनामा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले प्राधिकरणको नाफा घटेको छ।
गत साउन १० गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको स्वागतमा भएको कार्यक्रममा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा साढे ५ अर्ब रुपैयाँमा झरेको जानकारी दिए। तर, त्यो नाफा कर कट्नुभन्दा अघिको भएको पाइएको छ।
कार्यकारी निर्देशक शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको हो। उर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा गर्न भनेकी छिन्। साथै भुसालले कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेकी छिन्।
सबै कर कटौतीपछिको खुद नाफा प्राधिकरणले साढे ३ अर्ब पनि पु¥याउन नकसकेको प्राधिकरण सञ्चालक समितिमा बिहीबार पेश भएको चालू आर्थिक वर्षको बजेटमा उल्लेख छ।
आव २०७६।७७ मा ११ अर्ब ६८ करोड खुद नाफा कमाएको प्राधिकरणको एकै वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँ भएको हो। बजेटमा चालू आर्थिक वर्षको बजेटमा चालू आर्थिक वर्षको खुद नाफा ३ अर्ब १७ करोड मात्रै हासिल हुने प्रक्षेपण गरिएको छ। ४ वर्षयता बजेटको प्रक्षेपणभन्दा बढी नै नाफा आर्जन गर्न सफल प्राधिकरणले गत आवमा ठूलो दरमा नाफा घटाएको हो।
विद्युत चुहावट बढेको, आफ्ना विद्युत गृहहरुको उत्पादन घटेको, भारतबाट महंगो विद्युतको आयात बढाउँदा विगत ४ वर्षदेखि वित्तीय अवस्थामा सुधार गरी सबल बन्दै गएको प्राधिकरणको नाफा ओरालोतर्फ लागेको छ।
आव २०७२।०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा भएको थियो। आर्थिक वर्ष २०७३।०७४, २०७४।०७५,२०७५।०७६ र २०७६।०७७ मा क्रमशः एक अर्व ५० करोड, २ अर्व ८५ करोड, ९ अर्व ८१ र ११ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
३४ अर्ब ६१ करोडको सञ्चित नोक्सानी धनात्मक बनेको थियो। ऊर्जामन्त्री भुसालले राजीनामा मागेपछि गत साउन २० गते पत्रकारसँग भेटघाट गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोभिड–१९ले मिटर रिडिङ गर्न नसकिएको, आन्तरिक उत्पादन घटेको तर विद्युतको खपत बढ्दा भारतबाट आयात बढेको, चुहावट बढेको, डेडिकेटेड महसुल समायोजन गरिएको जस्ता कारणले नाफा घटेको बताएका थिए।
प्राधिकरण स्रोतले विद्युत महसुल समायोजन हुने, ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको विद्युत खरिद दर घट्नेसहित विद्युत खरिद सबै पक्षलाई ख्याल गरेर २०७६ असारमा नै करिब १० अर्ब ९० करोड रुपैयाँ नाफा हुने गरी प्रक्षेपण गरिएको बताएको छ।
७० मेगावाटको मध्यमर्स्याङ्दी विद्युतगृहबाट उत्पादित विद्युत प्रवाह हुने प्रसारण लाइनको टावर बाढीले बगाउँदा र त्रिशूली थ्रि एको युनिटलाई लामो सयमसम्म मर्मतका लागि बन्द गरिँदा उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ।