Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीविरुद्ध उग्र देखिएका केही नेताबाहेक अन्यलाई फर्काउने माओवादीको तयारी

काठमाडौं– नेकपा खारेज भएपछि एमालेतिर लागेका पूर्व माओवादी नेताहरु पुनः पुरानै पार्टीमा फर्किने मनस्थितिमा छन्। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने अड्डी कसेका उनीहरु माओवादीमै फर्किन चाहेका छन्।

केही समयअघि टोपबहादुर रायमाझिलगायतका नेताले आफूहरुले एमाले नभएको दाबी गर्दै सर्वोच्च अदालतमा सांसद पद फिर्ता गरी पाउँ भनि निवेदन पनि दिए। तर, अदालतले अस्वीकार गरिदियो। हाल उनीहरुलाई पार्टीमा फर्काउने प्रयास भइरहेको बुझिएको छ।

यसका लागि माओवादीमै रहेका नेताहरुले पनि सक्रियता देखाइरहेका छन्। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो लबिङपछि केहि नेताहरूलाई फर्काउने तयारी गरिएको एक नेताले जानकारी दिए।

एमालेमा देखिएको विवाद र अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अवस्थाका कारण माओवादीमा फर्किन चाहेका केहि नेताहरूलाई ल्याउने तयारी गरिएको बताइएको छ। माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी, दाबा लामा लगायतका २३ जना एमालेमै बसेका थिए।

नेकपा एमाले आफ्नै विवादमा फसेपछि यता न उता बनेका केहि नेताहरूले माओवादी केन्द्रमा फर्कने इच्छा व्यक्त गरेका छन्। माओवादीमा फर्किन चाहेपनि अध्यक्ष प्रचण्डले चासो नदिएका कारण उनीहरू लामो समयदेखि रोकिएको चर्चा चलिरहेको थियो। पछिल्लो समय उनीहरूलाई फर्काउने विषयमा प्रचण्ड समेत सकारात्मक देखिएको बताइएको छ।

नेकपा माओवादी पार्टी नै खारेज गर्नुपर्ने माग राखेर निर्वाचन आयोग धाएका र सर्वोच्च अदालतमा माओवादीकै सांसद बनाइदिन भन्दै गुहार मागेका केहि उग्र नेता बाहेकका नेताहरू माओवादीमा फर्काउन प्रचण्ड सकारात्मक बनेपछि उनीहरूलाई कसरी फर्काउने भन्ने तयारी भएको माओवादी स्रोतले बताएको छ।

खासगरी पूर्वमाओवादी र प्रचण्डप्रति नरम रहेका नेताहरू लेखेराज भट्ट र रामबहादुर थापा बादललाई माओवादीमा फर्काउन पहल थालिएको बताइएको छ। बादल र भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक तहको संवाद गरिसकेको बताइएको छ। टोपबहादुर रायमाझी र प्रभु शाहलाई भने फर्काउन प्रचण्डले अस्वीकार गरिरहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077