Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँग जोडिएका 'कल बाइपासका अभियुक्त'ले गरे हितेन्द्रको पद थमौती गर्न चलखेल !

काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७।७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँ मात्रै भएको छ। दुई आर्थिक वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान हो प्राधिकरण। तर, आर्थिक वर्ष २०७६।७७ को तुलनामा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले प्राधिकरणको नाफा घटेको छ।

गत साउन १० गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको स्वागतमा भएको कार्यक्रममा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा साढे ५ अर्ब रुपैयाँमा झरेको जानकारी दिए। तर, त्यो नाफा कर कट्नुभन्दा अघिको भएको पाइएको छ।

कार्यकारी निर्देशक शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । उर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा गर्न भनेकी छिन्। साथै भुसालले कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेकी छिन्।

यता, सर्वोच्च अदालतको आदेशपछि सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र शाक्यबीचको सम्बन्धमा एक चर्चित बिचौलिया रहस्यमय रुपमा प्रवेश गरेको खुलेको छ।

कुनै समय अबैध कल बाइपासमा पक्राउ परेका विवादास्पद व्यक्ति मनिन्द्रराज  मल्ललाई ओलीले प्राधिकरणको पैसा  उठाउन खटाएको स्रोतको दाबी छ । स्रोतका अनुसार मल्लले प्राधिकरणमा हुने ठेक्का प्रक्रियामा सेटिङ मिलाउनेदेखि बालुवाटारका लागि आर्थिक संकलन गर्दै आएका थिए ।

विद्युत प्राधिकरणका एमडी हितेन्द्र शाक्यलाई प्रयोग गरेर मल्लले वार्षिक झन्डै एक अर्ब रुपैयाँ बालुवाटारमा ओलीलाई पुर्याउने गरेको प्राधिकरणका एक उच्च अधिकारीले दाबी गरे। ।

प्राधिकरणका ती उच्च अधिकारी भन्छन्, 'मल्लले प्राधिकरणमा तत्कालिन प्रधानमन्त्री ओलीको प्रतिनिधि भएर रकम असुली धन्दा चलाउंदै आएका थिए। अहिले उनी हितेन्द्रको पद थमौती गर्न पैसाको बिटो बिकेर नेताहरुकहाँ धाउन थालेका छन्।'

कर्मचारीको सरुवा,फाइल कोटेशन र टेन्डरदेखि लिएर आयोजनाका पिपिएमा चलखेल गर्ने मल्लले हितेन्द्रको पद थमौती गर्न आफु जस्तै अन्य   बिचौलियालाई पनि खटाएको प्राधिकरण स्रोत वताउँछ।

मल्लले  नै २०७६ सालमा सेटिङमा सर्वसाधरणको व्यक्तिगत गोपनियता धरापमा पार्ने उपकरण खरिदको ठेक्का पाएका थिए । नेपाल दुरसन्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्भर झाको मिलेमतोमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ठेक्का सिंगापुरको नमस्ते ग्लोबल कम्पनीले पारेको थियो । उक्त कम्पनीका सञ्चालक मल्ल नै  थिए ।

मल्ल अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बिशेष सम्बन्ध रहेको दाबी गर्दै हितेन्द्र शाक्यको पद थमौतीमा लागिरहेको स्रोतको भनाइ छ। मल्लकै योजनामा आफु चार बर्षका लागि कार्यकारी निर्देशक बनेको र सरकारले हटाएको खण्डमा अदालत गएर न्याय पाउने भन्दै हितेन्द्रले मिडियामा बोल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077