काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले सरकारले घोषणा गरेको संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी उल्लेख नगरिको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री ओलीले एमसीसीको विषयमा जनताले जान्न चाहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।
‘अहिलेको सरकार गठबन्धन हुँदा एमसीसी गर्नु भएको थियो जस्तो लाग्छ। संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी बिर्सिनु भयो कि क्या हो ?'ओलीले प्रश्न गरे,' मैले त यता कतै एमसीसी देखिन। तपाई त बलियो प्रधानमन्त्री हुनुहुन्छ। सरकारमा त छिरीयो सबै कुरामा जस्केला । त्यो जत्थाले के भन्छ एमसीसी पास गर्ने कि चुप्प लाग्ने । सम्माननीय प्रधानमन्त्री ज्यू तपाई एमसीसी के गर्नु हुन्छ ? जनता जान्न चाहान्छन्।‘
प्रतिनिधिसभा पुर्नस्थापना पश्चात पूर्व प्रधानमन्त्री ओलीले पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका छन् ।
‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’
यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको स्मरण गर्दै असाधारण जनमतका साथ आफू फेरी मूलढोकाबाट सरकारमा आउने आउने समेत जिकिर गरे।