Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘रेड नोटिस’ जारी भएका बैंकिङ कसुरका अभियुक्त ढुंगाना पोर्चुगलबाट पक्राउ, अहिले सिआईवीको हिरासतमा

काठमाडौं । देव विकास बैंकको झण्डै ३ करोड रकम हिनामिना गरेर फरार भएका केदार ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । पोर्चुगल प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले काभ्रे भुम्लु गाउँपालिका–१ का ४३ वर्षीय ढुंगानालाई शनिबार काठमाडौं ल्याएको हो।

बैंकिङ कसुरमा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका अभियुक्त ढुंगानालाई पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो। ढुंगानालाई काठमाडौं ल्याउना साथ अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) को हिरासतमा राखिएको छ ।

सिआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले डुंगानालाई हिरासतमा राखिएको पुष्टि गर्दै भोलि अदालत पेश गरिने जानकारी गराए । ढुंगानामाथि कीर्ते कागजात बनाएर देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ सवारी कर्जा हिनामिना गरेको आरोप छ ।

उक्त प्रकरणमा उनीसहित १२ प्रतिवादी थिए। ढुंगानाविरूद्ध जिल्ला अदालत काठमाडौंमा पाँच र ललितपुर जिल्ला अदालतमा १० थान मुद्दा दर्ता भएका थिए। ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो।

२०७७ साल पुस २० गते फैसला भएकोमा उनी फरार भएर युएई पुगेका थिए। अन्य व्यक्ति भने पक्राउ परिसकेका थिए।

प्रतिवादीहरूको बयानबाट ढुंगानाको संलग्नता खुलेपछि २०७५ साल पुस ४ गते प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो।

तर, उनी नेपालमा नरहेको पाइएपछि २०७५ पुस १७ गते डिफ्युजन नोटिस जारी गरिएको थियो । तरपनि उनी नभेटिएपछि २०७८ वैशाख १ गते इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077