काठमाडौं । नेपाली कांग्रेसको महाधिवशेन मंसिरमा हुने पक्का भएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्ने सहमति गरेको छ।
राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने संविधानमा उल्लेख गरिएको छ।
तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनेर संविधानमा लेखिएको छ।
संविधानको व्यवस्थाअनुसार भदौमै महाधिवेशन सक्नुपर्नेछ । तर कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो।
यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका :
– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)