Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो चरणमा २८ खेलाडी छनोट, भरत खवाससहित १० जना बाहिरिए

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राखेका छन् । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा किरण लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, अभिषेक रिजाल र शिशिर लेखी रहेका छन्।

फुटबल टोलीले हाल पोखरा रङ्गशालामा अभ्यास गरिरहेको छ । उक्त टोलीले साफ च्याम्पियन अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले दशरथ रङ्गशालामा भारतसित आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली फुटबल महासङ्घसमक्ष प्रस्ताव राखेकामा माल्दिभ्सले अनुमति पाएको हो ।

यसअघि १३औँ संस्करणको साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको थियो । बङ्गलादेशले कोरोनाका कारण साफ च्याम्पियनशिप आयोजना गर्न नसक्ने जनाएको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलङ्कासित मिलेर संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077