Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डिआईजी र एसपीको मिलेमतोमा महामारीका बेला क्यासिनो सञ्चालन, हेडक्वार्टर मुकदर्शक

    डिआईजी र एसपीको मिलेमतोमा महामारीका बेला क्यासिनो सञ्चालन, हेडक्वार्टर मुकदर्शक

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 5.9K
    SHARES

    रुपन्देही । लुम्बीनी प्रदेशका प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्य र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी फेरि विवादमा तानिएका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरण मुछिएका डिआईजी आचार्य र गौहत्या प्रकरणमा मुछिएका एसपी अधिकारी अहिले फेरि कोरोनाको महामारीमा पनि नेपालगञ्जमा मिनि क्यासिनोहरु निर्वाध सञ्चालन भइरहँदा विवादमा तानिएका हुन् ।

    सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिनका लागि भन्दै लामो समयदेखि राजधानीकै ठूला क्यासिनोहरु बन्द गरिरहेको अवस्थामा नेपालगञ्जमा भने प्रहरीकै सेटिङमा अवैध रुपमा क्यासिनोहरु सञ्चालन हुँदै आएको स्रोतको दावी छ ।



    बाँकेका एसपी अधिकारीले एउटा क्यासिनोबाट दिनकै ३ लाख भारतीय रुपैयाँसम्म लिएर साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म क्यासिनो सञ्चालन गर्न अनुमति दिएको स्रोतको दाबी छ। एसपी अधिकारीले गरेको  उक्त अवैध कार्यलाई प्रदेश प्रहरी प्रमुख डिआईजी आचार्यले देखे नदेखेझैं गरेको प्रहरीहरु नै बताउँछन् ।



    त्यसो त कानुनतः क्यासिनोहरुमा नेपाली प्रवेश गर्न पाइदैन । तर, क्यासिनो सञ्चालकहरूले भने प्रहरीलाई मासिक रुपमा रकम दिँदै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाउने गरेको गुनासो बढ्न थालेका छन् । प्रहरीकै सेटिङमा नेपालगञ्जमा अवैध मिनि क्यासिनो सञ्चालनको बारेमा प्रहरी प्रधान कार्यालयमा चर्चा चलेपनि हेडक्वार्टले अझैसम्मा त्यसबारे कुनै कारबाही प्रक्रिया अगाडि बढाउन भने सकेको छैन ।

    राजधानीका क्यासिनो बन्द भएपछि नेपालका नाम चलेका जुवाडेहरु अहिले नेपालगञ्ज धाउने गरेका छन् । दोलखाका इन्द्र नेवार, बौद्ध क्षेत्रका जुवाडे राजन लामा यतिबेला नेपालगञ्जमा बसेर खुलेआमा जुवा खेलिरहेको स्रोतको दावी छ ।

    नेपालगन्जको सोल्टी होटलमा रहेको ‘महाजंग’ मिनि क्यासिनोमा लामाले केही दिन अघि मात्रै १ करोड भन्दा बढि हारेको स्रोतले बतायो। महाजंग क्यासिनोका मार्केटिङ अफिसर रहेका विष्णु भनिने अब्जोशी बिबस शर्माले जुवा खेलाउनको लागि मान्छेहरु सम्पर्कमा ल्याउने काम गर्छन् भने उनले नै जुवाडेहरुलाई क्यासिनोमा बोलाउने र मिटरब्याजमा पैसा दिने गरेको समेत स्रोतको दावी छ ।

    भारतीय सीमा क्षेत्र रहेको नेपालगन्जका मिनी क्यासिनोहरूमा दैनिक २ देखि ३ करोडसम्म्मको कारोबार हुने गर्दछ। उक्त क्यासिनोहरुमा नेपालीहरुमात्र नभई जुवा खेल्न भारतीय नागरिकहरु पनि आउने गर्छन्। त्यसैले त्यहाँ भारतीय रुपैयाँमा जुवा खेलाउने गरिएको छ ।

    नेपालगञ्जका चार वटा होटलले मिनि क्यासिनो सञ्चालन गर्ने अनुमति लिएका छन्। सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यू। पछिल्लो समय कोरोनाको महामारीमा पनि चारवटै क्यासिनोहरु सञ्चालित छ।

    सिद्धार्थ भ्यूमा सञ्चालित ज्याकपट ग्याम्लिङ सेन्टर, होटल ड्रिमल्याण्डमा सञ्चालित ह्याप्पी आवर क्यासिनो समेत अवैध रुपमा सञ्चालन भइरहेको छ।

    मिनी क्यासिनो सञ्चालकहरुले जिल्ला प्रहरी प्रमुख एसपी अधिकारी हुँदै प्रदेश प्रहरी प्रमुख डिआईजी आचार्यलाई समेत पैसा बुझाउने गरेको स्रोतको दाबी छ। त्यसैले पनि अहिले नेपालगञ्जमा निर्वाध रुपमा मिनी क्यासिनोहरु सञ्चालन भइरहेका छन् ।

    यसअघि इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको निलम्वनकै भोलिपल्ट भएको मृत्यु प्रकरणमा समेत आचार्य मुछिएका थिए। गृह मन्त्रालयले सहसचिव सुनील खनालको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो। समितिको सदस्यमा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ छन्।

    गृहले निलम्बन गरेको भोलीपल्टै गत २५ साउनमा मोटरसाइकल दुर्घटनामा परी इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो। मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो। सो घटनामा प्रदेश प्रमुख डिआजी आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ। जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो।

    एसपी अधिकारी पनि यसअघि गौहत्या प्रकरणमा पनि छानविनको दायरामा तानिएका थिए । एसपी अधिकारीकै निर्देशनमा गौहत्या जस्तो अपराधमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो ।

    त्यसाे त दाङबाट बाँकेको कोहलपुर आउँदै गरेका एक व्यक्तिको साथबाट हराएको ३ किलो सुन प्रकरणमा समेत डिआईजी मुछिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएका थिए । सुन नै अवैध भएकाले खोजीनिती नभए पनि डिआईजी आचार्य र एसपी अधिकारी भने यसबारे पूर्णरुपमा जानकार भएको प्रहरी स्रोतको दावी छ । यसबारे हेडक्वार्टरमा पनि खैलाबैला मच्च्चिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार