Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयरल्याण्डविरुद्ध रोनाल्डो : पेनाल्टीमा चुके, अन्तिम समयमा दुई गोल गर्दै कीर्तिमान बनाए

एजेन्सी । फिफा विश्वकप छनोटको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोलले पराजित गरेको छ।

बुधबार राति भएको युरोपेली छनोटको समूह एको खेलमा पोर्चुगलले आयरल्याण्डविरुद्ध रोमाञ्चक जित निकालेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने। टोलीका लागि दुबै गोल उनैले गरेका हुन् त्यो पनि अन्तिम समयमा।

खेलको पहिलो हाफमा उनी पेनाल्टीमा चुकेका थिए। हारतर्फ उन्मुख पोर्चुगललाई उद्धार गर्ने क्रममा बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए। इन्जुरी समयमा फेरि गोल गर्दै उनले टोलीको जित पक्का गरे।

खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए। पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले गोल गर्दैै शुरुवाती अग्रता बनायो। जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा सुधारिएको खेल पस्केको पोर्चुगलले लगातार आक्रमण बुनेको थियो। तर टोलीको एकपछि अर्को आक्रमणलाई आयरल्यान्डको डिफेन्स रोकिरहेको थियो। ७४ औं मिनेटमा बर्नार्डो सिल्भाले सुवर्ण अवसर खेर फाल्दा पोर्चुगल खेलमा फर्कन सकेन।

८९ औं मिनेटमा पाएको कर्नरमा पोर्चुगलले खेलमा फर्कियो। गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले व्यसक्तगत दोस्रो गोल गर्दै टोलीलाई जिताए।

रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए। रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने। पोर्चुगलका लागि उनको त्यो १ सय १० औं गोल हो।

यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन्। रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ बनाएका छन्। खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो।

रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए। प्याट्रिक सिकसँग समान गोल गरेपनि असिस्ट र कम समय खेलेको आधारमा उनले ट्रफी जितेका थिए।
हाल पोर्चुगल समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानको सर्बियाको ३ खेलमा ७ अंक छ भने पोर्चुगलको ४ खेलमा १० अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077