Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवादित विषयमाथि एमसीसीले नेपाललाई पठायो जवाफ

काठमाडौं । नेपाल सरकारले भदौ १८ गते एमसीसीका विवादित बूँदा प्रष्ट पार्न अमेरिकालाई पठाएको पत्रको जवाफ आएको छ। अमेरिकी राजदूतावासले उक्त पत्रको जवाफ नेपाल सरकारलाई पठाइएको जानकारी दिएको छ।

यसअघि नेपालले एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो। उक्त पत्रको जवाफ बुधबार आएको हो। पत्रको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

एमसीसीको विषय नेपालमा राजनीतिक एजेन्डा बनेर विवादमा परेपछि अर्थ मन्त्रालयले विवादित ११ बुँदा समेटेर अमेरिकी राजदूतावासमार्फत नै एमसीसी मुख्यालयलाई पत्र पठाएको थियो। हाल एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका छन्।

सरकारले एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’अन्तर्गत एमसीसी परियोजना पर्छ कि पर्दैन, एमसीसीअन्तर्गत नेपाल अमेरिकी सुरक्षाको घेरामा पर्छ कि पर्दैन, परियोजनाको लेखा परीक्षण नेपाल कि अमेरिकाबाट हुने हो कि होइन, सम्झौता नेपालको संविधानभन्दा माथि छन् कि छैनन्, यो पूर्वाधार र ऊर्जा विकासका लागिमात्र हो कि होइन, अन्य सहयोग र यो सहयोगमा के फरक छ, यो सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौमिक सत्तालाई असर पार्छ कि पार्दैन लगायतका प्रश्नमा प्रष्ट जवाफको माग गरेको थियो।

नेपालमा एमसीसी बहसको विषय बनिरहेको छ। विभिन्न राजनीतिक दलहरुले विरोध तथा प्रदर्शन गरिरहेका छन्। बुधबार पनि देशका विभिन्न स्थानहरुमा प्रदर्शन भएको थियो भने बिहीबार पनि देशैभरि प्रदर्शन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077