काठमाडौँ। नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ ।
दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ । नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन् । गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनी हाल कतारमा उपचाररत छिन् । उनले चोटका कारण बङ्गलादेशसितको दुवै मैत्रीपूर्ण खेल खेल्ने छैनन् ।
नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आएका छन् । उनले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बङ्गलादेशसितका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ छ ।