Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भुवन केसी ‘महानायक’, गौरी मल्ल ‘महानायिका’ !

काठमाडौं – नेपाली फिल्म उद्योगमा ‘महानायक’ र ‘महानायिका’ को विवाद निरन्तर जारी छ। यो सरकारले दिने वा दिएको उपाधि हैन।

दर्शकहरुले आफ्नो मर्जीले दिएको उपाधि भएका कारण पनि यो सर्वमान्य नभएको होला। धेरै दर्शकहरुले राजेश हमाललाई महानायकको उपाधि दिएका छन् भने करिश्मा मानन्धरलाई महानायिका मान्छन्। यसो त रेखा थापालाई महानायिका भन्नेहरुको जमात पनि राम्रै छ।

यसैबिच, आइतबार आयोजना भएको ‘डाँडाको वर पिपल’ नामक चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नेपाली चलचित्रको ‘महानायिका’ गौरी मल्ल भएको दाबी गरे।

कार्यक्रममा भुवनले भने, ‘नेपाली चलचित्रको वास्तविक ‘महानायिका’ गौरी मल्ल हुन्। मैले यो विवादित कुरा गरेको होइन, म जे बोल्छु सत्य बोल्छु। गौरी मल्ल अभिनयको महानायिका नै हुन्। अझै ८–१० बर्ष त गौरी मल्लको अभिनयको तुलानामा कोही पनि आउँछ जस्तो मलाई लाग्दैन।’

यस्तै, नायक शिव श्रेष्ठले गौरी मल्लको अभिनय बलियो भएको बताए। उनले भने, ‘आज गौरी मल्लको योगदान हेर्नुहोस् त। महानायिकाको उपाधि यसै दिने होइन।’

कार्यक्रममा बोल्दै नायक भुवन केसीले यति लामो समयसम्म यही क्षेत्रमा काम गरेको आधारमा आफूहरुलाई गौरी मल्ल ‘महानायिका’ लागेको बताए। उनले भने, ‘अब यहाँ कसैले कसैलाई महानायक–महानायिका दिइरहन्छन्, दिनेले दिइरहन्छन्, लिनेले लिइरहन्छन्।’

यस्तै फिल्म निर्देशक सोभित बस्नेतले योगदानका रुपमा भुवन केसी महानायक भएको बताइरहेका छन्। उनले फिल्मी क्षेत्रमा हमालको भन्दा केसीको बढी योगदान रहेको भन्दै केसी नै ‘महानायक’ भएको दाबी गर्दै आएका छन्। निर्देशक बस्नेतको हँ–मा हँ मिलाउनेहरु पनि छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077