Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तीनकुनेमा पुल अलपत्र पार्ने पप्पुलाई ५ करोड जरिवाना, सात दिनभित्र उपस्थित हुन निर्देशन

    तीनकुनेमा पुल अलपत्र पार्ने पप्पुलाई ५ करोड जरिवाना, सात दिनभित्र उपस्थित हुन निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । विगत सात वर्षदेखि काठमाडौंको तीनकुनेमा पुल बनाउनका लागि भन्दै काम थालेर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँ जरिवाना हुने भएको छ । आज काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई सात दिनभित्र उपस्थित हुने निर्देशनसहितको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको छ ।

    बुधवार निकालिएको सूचनामा आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ।



    सूचनामा असार २२ गते लगायत विभिन्न मितिहरुमा हुलाकमार्फत् पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको भन्दै पत्रिकामा सूचना प्रकाशित गरिएको उल्लेख छ ।



    स्रोतका अनुसार तीनकुने पुल अलपत्र पारेको भन्दै आयोजनाले क्षतिपूर्ति असुल गर्न लागेको हो। थोरैमात्र काम गरेको पप्पु कन्स्ट्रक्सनले काम गरेको पैसा भुक्तानी पाइसकेको तर मोबिलाइजेसनको ब्याज र ठेक्का तोड्दा राज्यलाई ५ करोडको थप दायित्व सिर्जना हुने भएकाले त्यतिनै मूल्य बराबर जरिवाना हुने आयोजना स्रोतले बतायो ।

    आयोजना र कम्पनीका बिचमा डिजाइन्ड एण्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो। कम्पनीले करार दायित्व पूरा गर्न नसकेकाले २०७६ मंसिर ३ गते खरीद सम्झौता अन्त्य गरिएको थियो। गुणस्तरहीन काम गरेपछि आयोजनाले ठेक्का रद्द गरेको हो।

    पप्पुले गरेको काममा एउटा पाइलसहितको संरचना काम लाग्ने देखिएको आयोजनाले जनाएको छ। जसबापत करिब ६ करोड भुक्तानी पाएको छ। काम लाग्ने संरचना स्वीकार गरेर बाँकी निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ। अहिले उक्त ठेक्का मूल्यांकनको चरणमा छ।

    आयोजनाले जारी गरेको सूचनामा भनिएको छ–‘प्रस्तुत विषयमा त्यस कन्स्ट्रक्सन र यस आयोजना बीच ठेक्का न KVRIP/3371494-DB-11 बाट तीनकुने स्थित बाग्मती नदी काठमाडौंमा डिजाईन एण्ड बिल्ड बिधीबाट पुल निर्माण गर्न मिति २०७१/९/०४ मा भएको सम्झौता बमोजिम त्यस कन्स्ट्रक्सनले करारीय दाहित्व पूरा गर्न नसकेकोले मिति २०७६/०८/०३ मा खरिद सम्झौताको अन्त्य गरिएको व्यहोरा त्यस कन्ट्रक्सनलाई अवगतै छ । खरिद सम्झौताको शर्त एवम प्रचलित कानून बमोजिम सो ठेक्काको हिसाव फरफारक गर्न २०७८/३/२२ लगायत विभिन्न मितिहरुमा हुलाक मार्फत पत्राचार गर्दा ठेगाना फेला नपरेको भनी पत्रहरु फिर्ता आउने गरेका छन् । यसर्थ हिसाव फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिले कम्पनीको छाप र परिचय पत्र सहित ७ (सात) दिन भित्र यस कार्यालयमा सम्पर्क राख्न् आउनु हुन यो सूचना जारी गरिएको छ । अन्यथा प्रचलित ऐन कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत जानकारी गराईन्छ ।’

    यसअघि २०७५ साल मंसिरमै पप्पुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
    पप्पु कन्स्ट्रक्सनले बर्दियाको गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको, टेकुको पुलमा लापरवाही गरेको लगायतका आरोपमा तत्कालित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार, उनका छोरालगायत १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियाे।

    रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दाबी पनि गरेको थियो । रौनियारका छोरा तथा पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित पप्पुविरुद्ध पनि अख्तियारले १९ करोड ३२ लाख बिगो दाबी गरेको छ । हरिनारायणप्रसाद रौनियार संस्थापक सञ्चालक रहेको कम्पनी हो पप्पु कन्स्ट्रक्सन। हाल यो कम्पनी उनका छोरा सुमित रौनियारले सञ्चालन गर्दै आएका छन्।

    पप्पुको लापरबाहीका कारण २२ करोड रूपैयाँ लागतमा बनेको टेकु पुल वर्षौंदेखि पार्किङमा परिणत भएको छ। गुणस्तरमा प्रश्न उठाउँदै सडक विभागले पुल जिम्मा लिन नमानेपछि पुल अलपत्र बनेको हो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ । पहिलो चरणको सुनुवाइमा पप्पुले जितेपछि सडक डिभिजन कार्यालय काठमाडौं पुनरावेदनमा गएको थियो। पुनरावेदनको सुनुवाइ जारी छ।

    सडक विभाग पुल महाशाखाका अनुसार पुलको छत ढलानमा १५.२ एमएमको टुचन (तार) राख्नुपर्ने ठेक्का सम्झौता थियो। त्यसमा भारतको उसामार्टिन र टाटा कम्पनीको तार प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख थियो।

    पुल महाशाखाको टोलीले अनुगमन गर्दा पप्पु कन्स्ट्रक्सनले गुणस्तर जाँच नगरी अरू नै कम्पनीको सामग्री प्रयोग गरेको पाइएको थियो। त्यसको गुणस्तर जाँच गर्दा ठेक्का सम्झौताविपरीत सामान राखेको पाइएको थियो।

    हुलाकी लोकमार्गअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदीको पुल र सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माण पनि अलपत्र पारेपछि २०७६ सालमा विवादित पप्पु कन्स्ट्रक्सनबाट खोसेर अन्य कम्पनीलाई नै काम गर्न दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार