Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो। यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ। आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ। सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन्।

यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ। उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ। अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ। आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ।

नेपालमा पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ। यी कागजात अर्थात् शर्तहरू पालना गरेका पर्यटकहरू गन्तव्यमा जान पाउनेछन्। सरकारको यो निर्णयलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रूपमा लिएका छन्।

सरकारले ढिलै भए पनि सकारात्मक निर्णय गरेको एक्सपिडिशन अपरेटर्स एशोसिएशन अफ नेपाल (इओन)का अध्यक्ष डम्बर पराजुलीले बताए। सरकारले डेढदेखि २ महीना नै ढिला गरेर अनअराइभल भिसा खुलाउँदा धेरै पर्यटक आकर्षित नहुने उनको तर्क छ।

‘सरकारको कदम सही हो तर ढिलो गरी यो निर्णय आयो,’ पराजुलीले भने, ‘२ महिनाअघि भएको भए राम्रै प्रभाव हुने थियो किनभने नेपालमा भिसा खुला गर्नासाथ पर्यटक आइहाल्ने भन्ने हुँदैन। पर्यटकले पर्यटकीय सिजनका लागि पहिलादेखि नै तयारी, बिदा, बुकिङ समय पाउने थिए, यसले राम्रो नतीजा ल्याउन सक्थ्यो।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077