काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ सदस्यता आवेदन तथा रोकिएका आवेदन प्रक्रियालाई समयमै टुंग्याउने निर्णय गरेको हो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत आएका नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीबाट स्वयं आवेदन भरी वडा सभापतिको पोर्टलमा होल्डमा रहेका आवेदनहरू साउन १४ गतेभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै, पालिका र प्रतिनिधिसभा क्षेत्रीय समितिले मातहतका तहबाट अनुमोदन भएर आएका आवेदन प्राप्त भएको मितिले तीन दिनभित्र अनुमोदन प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसले इन्टरनेट पहुँच कमजोर भएका उच्च हिमाली तथा विकट पहाडी जिल्लाका सदस्यहरू, साथै भातृ तथा शुभेच्छुक संस्थाका अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण एक्सेल फारममार्फत केन्द्रबाट अद्यावधिक गर्ने निर्णय गरेको छ। यस्ता विवरण साउन १५ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने जनाइएको छ।
बैठकले डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्न नसकेका तहका सभापतिका लागि वैकल्पिक व्यवस्था गर्ने निर्णय पनि गरेको छ। त्यस्ता अवस्थामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा सभापति तोकी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने व्यवस्था गरिनेछ।
यसैगरी, विविध कारणले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यहरूको विवरण पनि केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट अद्यावधिक गर्ने निर्णय भएको छ।
कांग्रेसले कुनै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम रहेको वा ३५ वर्षभन्दा कम उमेर समूहका सदस्य पाँच जनाभन्दा कम भएको अवस्थामा पनि केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता उपलब्ध गराउने निर्णय गरेको छ।