काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक झडप र सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको राजनीतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बस्नेतले घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहले पनि जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
बस्नेतले लेखेका छन्, 'सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। बालेनले जनतासँग माफी माग्नुपर्छ।'
उनले सामान्य विवादलाई साम्प्रदायिक तथा धार्मिक रंग दिँदै परिस्थिति जटिल बनाइएको आरोप लगाएका छन्।
बस्नेतका अनुसार निर्दोष युवामाथि गोली चलाउने आदेश दिने व्यक्तिदेखि घटनामा संलग्न सबैको भूमिकामाथि निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुन आवश्यक छ।
एमाले सचिव बस्नेतले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।